मध्यपुरठिमी नगरपालिका, निकोसेराका किराना व्यवसायी सुदीप अधिकारी लकडाउनको कारण व्यवसाय चलाउन नसकेको र कृषि बैंकबाट लिएकोऋणको बोझ थेग्न नसके पछि निरास भएर गएको महिना श्रीमति र छोराको हत्या गरी आफूले पनि विष सेवन गरी आत्महत्या गर्न बाध्य भए। कोरोना महामारीको कारण चैत्र ११ गतेबाट भएको लकडाउन र त्यस पछि भएको निषेधाज्ञाको कारण व्यवसाय चलाउन नपाएका, व्यवसाय बन्दको कारण कर्मचारी र परिवारको पालन पोषण गर्न नसकेका र ऋणको बोझले थिचिदै गएका लाखौ व्यवसायीहरु सडक मै आइसकेका छन र यो जटिल अवस्थाको सामना गर्न नसकेकाहरु भटाभट सुदीप अधिकारीले जस्तै आत्महत्याको बाटो रोज्न थालेका छन। रेल, पानी जहाज र सुरुग मार्गको ठुला ठुला परियोजना घोषणा गर्दै आएको सरकार जनतालाई सामान्य स्वास्थ्य सेवा उपलब्ध गराउन र दुई छाकको खाना जोहो गर्नमा कुनै सहयोग गर्न तैयार देखिदैन। सयकडौ मान्छे हस्पिटल पुग्न नसकेर मरिरहेका छन।लाखौ मान्छे रोजगार र व्यवसाय विहिन भएर भटाभट आत्महत्याको बाटो रोजिरहेका छन। संकटको यस्तो विकराल अवस्थामा गैर जिम्मेवार देखिएको सरकार कर उठाउन र झुठो आश्वासन दिएर रमाउनमा नै व्यस्त देखिन्छ।
महामारीको बेला रोग र भोकले देशको अवस्था लथालिंग छ।सर्वत्र निराशाजनक अवस्था छ। मरिने डर त हरबखत हुन्छ तर पनि अन्तिम अवस्था सम्म ज्यान जोगाउन संघर्ष गर्नु मानिसको कर्तव्य र धर्म पनि हो। त्यसैले यस्तो प्रतिकूल अवस्थामा पनि केही अपवादलाई छोडेर लाखौ बन्द अवस्थामा रहेका उद्योग व्यवसाय विशेषत घरेलु तथा साना उद्योग र साना व्यापारलाई कसरी संचालन गर्ने भनि प्रमुख समस्या र चुनौती आइ परेको छ। यदि यी लाखौ साना साना उद्योग व्यापारलाई खोल्न सकिएन भने “मर्ता क्या नही करता” भने झैयी निरिह व्यवसायी सामू आत्म हत्या गर्नु वा विद्रोह गर्नु वाहेकको विकल्प रहँदैन। भोखो पेटले कुनैवाद, नैतिकता र राष्ट्रियता हेर्दैन। बाच्नको लागि उसले जे पनि गर्न सक्छ भन्ने हेक्का सरकारले राख्नु जरुरी छ। यहाँ हामी अहिले कोरोनाको कारण बन्द रहेको उद्योग व्यवसाय संभव भए सम्म कसरी संचालन गर्न सकिन्छ त्यस बारेमा चर्चा गर्न गरइरहेका छौँ।म स्वंय पनि साना साना धेरै व्यवसायमा संलग्न भएकोले व्यवहारिक र फलदायी हुने विश्वास लिएको छु।
लकडाउनमा थला परेको उद्योग व्यवसाय निषेधाज्ञामा पूर्णतः बन्द अवस्थामा छन। स्वास्थ्य र खाने पिउने व्यवसाय बाहेक कुनै पनि चलेका छैनन । राहतको नाममा सरकाले सुको पैसो दिएको छैन। बैंक कर्जा लिनेको हकमा केही सुविधा घोषणा भए पनि पूर्णतः कार्यान्वयनमा आउन वाँकि नै छ।त्यसैले सरकारको मुख नहेरी आफैले प्रयास गरेर भए पनि बन्द उद्योग व्यवसाय कसरी शुरु गर्न सकिन्छ ? तलका उपायहरु अपनाएर एक पटक प्रयास गर्नु सबै उद्योगी व्यवसायीको कर्तव्य हो।
१. आत्मबल र आत्म विश्वासको श्रृजनाः- सर्व प्रथम निराश मनस्थितिबाट उठ्नु जरुरी छ। गाउँमा बाढी पस्दा घरहरु बगाउँछ, कति मानिसको ज्यान जान्छ। तर किनारा लागेकाहरु संघर्ष गरेर फेरी अघि बढेको हुन्छन। लकडाउन निषेधाज्ञाले धेरैलाई लडाएको छ। तर उठेर फेरी सम्हालिन सकिन्छ। तसर्थ आत्मबल बलियो बनाएर म सक्छु भनेर आफुमा विश्वास गरी सर्व प्रथम व्यवसाय चलाउने मनस्थिति बनाउनु जरुरी हुन्छ।
२. आफ्नो व्यवसायको वास्तविक समिक्षाः- आफुले चलाइ रहेको व्यवसायको अवस्था अध्ययन गर्नुस। त्यस्तै व्यवसाय कतिको चलेको छ, चल्ने अवस्था छकि छैन ? उद्योग व्यवसाय चलाएर खर्च धान्न सकिने अवस्था छ कि छैन ?अहिले नाफा हेर्ने समय हैन।कसरी बाच्ने, त्यो मात्र सोच्ने हो।अहिले जो बाच्छ त्यो टिक्छ र अगाडी बढ्छ। समय सधै एकनाशको रहँदैन । कोरोना काल पछि व्यवसायमा बाच्ने जति सबैको प्रगतिको दिन आउँछ, त्यो शत प्रतिशत सही हो। व्यवसाय चलाएर बाच्न सक्ने अबस्थाको अध्ययन र समिक्षा गर्नुस।
३. उपभोक्ताहरुको आवश्यकताको पहिचानः- तपाइले प्रदान गर्नु भएको बस्तु वा सेवा उपभोग गर्ने उपभोक्ताको आवश्यकताको पहिचान गर्नुस। उनीहरु के चाहिरहेका छन, उनीहरुको आवश्यकता परिवर्तन भएको छ छैन, तपाइले दिने वस्तु र सेवा उपयोग गर्ने पहिले जस्तै अवस्था छ कि छैन? त्यस्को अध्ययन र पहिचान गर्नुस। साविक कै राम्रो अवस्था छ भने पूनः संचालन गर्दा समस्या नआउला तर आवश्यकता परिवर्तन भै सकेको छ भने व्यवसाय यथास्थितिमा संचालन गर्नु भन्दा उपभोक्ता चाहना अनुसार परिवर्तन गर्नु पर्ने हुन्छ।
४. कार्यरत कर्मचारी मनस्थितिको अध्ययनः- उद्योग व्यवसाय संचालन गर्दाको कर्मचारीको अवस्था के छ, उनीहरुको सोच कस्तो छ,लकडाउन भित्र व्यवसाय बन्द भएको अवस्थामा उनीहरुको भूमिकासकारात्मक नकारात्मक कस्तो रह्यो, बसी बसी तलब मात्र खान खोजे कि सहयोगी पनि बने,उनीहरुलाई फेरी साथ लिँदा संकटकालमा सहयोगि हुन सक्छन कि सक्दैनन् ? यी सबै विषयमा पूनरचिन्तन गर्नुस। व्यवसाय पून चलाउँदा आफ्नो काम सम्झेर कम तलब (खाने बाच्ने गरी) मा भए पनि काम गर्न तैयार छन कि छैनन्? सबै राम्ररी अध्ययन गर्नुस।
५. वितरण प्रणाली (सप्लाई चेन) को निर्क्यौलः- आफुले पहिलाव्यवसाय चलाउँदाको बस्तु र सेवा वितरणको लागि अपनाइएको सप्लाई चेनको अवस्था के छ,सरकारले लकडाउन गर्दा वा नगर्दाको अवस्थामा पनि त्यो चेनले काम गर्छ गर्दैन? त्यो सबै निश्चित गर्नु पर्छ। बस्तु सेवा उत्पादन गरिएला तर वास्तविक उपयोक्ता वा थोक खुद्रा विक्रेता कहाँ पुग्न पाएन भने फेरी ठुलो नोक्सानीको संभावना रहन्छ। त्यसैले वितरण प्रणालीको निश्चितता जरुरी हुन्छ।
६. नगद प्रवाहको अवस्थाः- व्यवसाय बन्द भन्दा अघिको अवस्थाको नगद प्रवाहको अवस्था के थियो र अहिले कस्तो छ? अर्थात डेब्टर (उठाउन बाँकी) क्रेडिटर्स (तिर्न बाँकी),बैंक मौज्दात,आफ्नो क्रेडिट कार्डको बाँकी रकम र स्टक मौज्दात कस्तो थियोर अहिले अवस्था के छ? ती सबैको अध्ययन जरुरी हुन्छ।उद्योग व्यवसाय पूनः संचालन गर्ने अवस्थामा न्यूनतम चालु पूँजी चाहिन्छ।डेब्टरबाट आउने संभावना कम हुन्छ तर क्रेडिटर्स जति सबै भुक्तानी लिन लाम लाग्न सक्छन।बजारमा उठाउन बाँकीबाट न्यूनतम आउने गणना र तिर्न बाँकीलाई अधिकतम दिनु पर्ने हिसाव गर्नु पर्ने हुन्छ।कच्चा र तैयारीमालको स्टक छ भने त्यसले सपोर्ट गर्न सक्छ।
७. व्यवसायलाई प्रविधि संग जोड्ने संभावनाः- कोरोनाको असर तत्कालै खतम हुने अवस्था छैन । बेला बेलामा लकडाउन र निषेधाज्ञा हुन सक्छ। त्यो बेला बस्तु वा सेवाको वितरण प्रविधि मार्फत गर्न सकिने संभावना कतिको छ? त्यो विचार गर्नु पर्छ । अहिले वास्तविक अनलाईन संगै सानो प्रकृतिको व्यवसाय सोसल मिडिया फेसबुक, भाइवर, ह्वाटसअपको प्रयोग गरेर पनि वितरण प्रणाली चलाउन सकिन्छ । पूनः लकडाउन हुन सक्छ भनि सोचेर व्यवसायको काम नरोकिने विकल्प सोचेर संचालन हुने व्यवसायलाई बन्द हुनबाट जोगाउन सकिन्छ।
८. थप चालु पूँजीको आवश्यकता र पूर्तिको माध्यमः – बन्द उद्योग व्यवसाय पून संचालन गर्न ठुलै साहस चाहिन्छ। सबै अवस्था अनुकुल बनाउँदा पनि आवश्यक चालु पुँजी व्यवस्था गर्न सकिएन भने कुनै अर्थ रहँदैन। त्यसैले उद्योग व्यवसाय चलाउन न्यूनतम कति चालु पूँजी चाहिन्छ?निर्क्यौल गरी थप पूँजीको व्यवस्थाको लागि निम्न उपाय अपनाउन सकिन्छ।
क) पूनरकर्जा लिन सकिनेः- नेपाल राष्ट्र बैंकले १ खर्बको पूनरकर्जा कोष बनाई साना तथा घरेलु उद्योग पूनरकर्जा, विषेश पूनरकर्जा र साधारण पूनरकर्जा गरी तीन क्षेत्र निर्धारण गरेको छ।यो व्यवसायलाई निज व्यवसायीले बैंक वित्तिय संस्थामा विगतमा कर्जा भुक्तानी गरेको आधारमा १ देखि ५ प्रतिशत सम्म सस्तो व्याजदरमा पूनरकर्जा दिने भएकोले बैंकबाट लिन सकिन्छ।
ख) धितो सुरक्षणमा थप कर्जा लिन सकिनेः- एउटा बैंक शाखाबाट ५ जनाले पूनरकर्जा पाउने भनेकोले पूनरकर्जा सबैले पाउने संभावना कमै छ। अतः आफुले कर्जा लिएको बैंकमा सम्पर्क गरी धितो सुरक्षणले खामे सम्म आवश्यक कर्जा लिएर थप पूँजी जुटाउन सकिन्छ।व्याज अलि ४/५ प्रतिशत बढी पर्न सक्छ। यसरी थप कर्जा लिँदा पहिले लिएको कर्जाको साँबा ब्याज तिर्न थप एक वर्ष अवधि लिनु पर्ने हुन्छ।तत्काल साँवा किस्ता र ब्याज तिर्ने बोझबाट बच्ने उपाय निकाल्नु पर्छ।
ग) आफन्त संग छोटो अवधिको कर्जा लिन सकिनेः- विगतमा संचालन गरिरहेको उद्योग व्यवसायको संभावना राम्रो रहेको अवस्थामा साथीभाई संग सापटी पाउन सकिन्छ।पहिले देखि राम्ररी चिनेका र उद्योग व्यवसाय संचालन गर्नेको उद्यमशिलतामा विश्वास भएको अवस्थामा आफन्तहरु संग कर्जा लिएर चालु पूँजीको व्यवस्था गर्न सकिन्छ।
घ) नयाँ पार्टनर बनाइ पूँजी जुटाउन सकिनेः- राम्रो संग संचालन भइ बन्द भएको व्यवसायमा पार्टनर वा साझेदार बन्ने चाहना कतिपयले पहिले देखि बनाएका हुन सक्छन।एक्लै गरौ एक्लै कमाउ भन्ने सोच छोडेर आफुसंग विश्वास भएको व्यक्तिलाई पार्टनर बनाई थप चालु पूँजीको व्यवस्था गर्न सकिन्छ।नयाँ पार्टनर हाल्दा विश्वासिलो र सहयोगी मान्छे राख्नु पर्छ।
ङ) संकटकोलागि जोडेको सम्पत्ती विक्रि गर्न सकिनेः- हाम्रो समाजमा संकट पर्दा प्रयोग गर्ने गरी आ-आफ्नो तरिकाले पूँजी जोडिएको हुन्छ।घरको आइमाइले सुनका गहना, कमाउनेले बीमा पोलिसी, शेयर, मुद्दती र जग्गा जमिन केही न केही जोडीएको हुन्छ।कोरोनाको कारण उद्योग व्यवसाय बन्द भएको जस्तो ठुलो संकट केही हुन सक्दैन। बाँचियो र फेरी कमाउन थालेमा यस्ता सम्पत्ती फेरी जोड्न सकिन्छ। बन्द व्यवसाय संचालन गर्न वा बैकल्पिक अर्को व्यवसाय गर्न पूँजी भएन भने गरगहना, शेयर,मुद्धति, बिमा पोलिसी र जग्गा जे छ सो विक्रि गरी पूँजीको जोहो गरी काम गर्न सकिन्छ।
९. बैकल्पिक आयको लागि थप व्यवसाय संचालनः- कोरोनाको असर लामो समय जान सक्छ। चलाउन खोजेको व्यवसाय भविश्यमा पूनः लकडाउनको मारमा पर्न सक्छ।त्यसैले भविश्यको आर्थिक भारलाई न्यूनिकरण गर्न सानो पूँजीमा गर्न सकिने बैकल्पिक आम्दानी हुने व्यवसाय गर्न सकिन्छ।परिवारको अन्य सदस्यलाई संलग्न गराई किराना पसल, तरकारी व्यवसाय, माछामासु तथा अण्डा व्यवसाय, औषधि जन्य व्यवसाय आफु बसेको एरियामा सानो सानो स्केलमा गरेर पनि बैकल्पिक आय गर्ने तर्फ सोच्न सकिन्छ।
१०. सहयोगी एनजीओ आइ एनजीओको सहायताः- कोरोना माहामारीको मारमा परेका साना उद्योगी व्यवसायमीलाई सहयोग गर्न थुप्रै राष्ट्रिय अन्तराष्ट्रिय दाता संस्थाहरु छन।तिनको खोजि गरी पाउने सहयोग र साथ लिएर पनि केही गर्न सकिन्छ।यस तर्फ पनि ध्यान दिनु पर्छ।
यसरी माथि उल्लेखित भएका विभिन्न अवस्थाको सुक्ष्म अध्यन विश्लेषण गरी बन्द भएको उद्योग व्यवसायलाई सूचारु गर्न सकिन्छ। सधै निराश भएर भाग्यलाई मात्र दोष दिइ केही प्रयास नगर्नेले आफु र परिवारलाई नराम्रो प्रभाव पार्न सक्छ। जस्तो सुकै ठुलो समस्यामा पनि साहस गरी धैर्यता पूर्वक प्रयास गरेमा नहुने यो संसारमा केही छैन। त्यसैले बन्द उद्योगी व्यवसायीले म गर्न सक्छु भन्ने आत्म विश्वासका साथ अगाडी बढ्नु पर्छ।प्रयास गर्दै जाँदा उपायहरु आउँदै जान्छन र उद्योग व्यवसाय सूचारु भइ सफलता तिर अगाडी बढ्न सकिन्छ। चलिरहेको गाडीमा नै मानिस बस्न रुचाउँछन।बन्द गाडीमा कोही चढ्दैनन् र अन्तत कवाड बन्न जान्छ।यो यथार्थतालाई बुझेर आफूलाई चलायमान बनाउनुस।अवसरहरु आउँदै जान्छन।धैर्यता, आत्मविश्वास, मेहनत र निरन्तरता भएमा सफल अवश्य भइन्छ।