नेपालमा स्टार्ट अप (Startup)व्यवसाय किन असफल हुन्छन?

कोइला खानिबाट निस्कने कच्चा हिरा चम्किलो बन्न र लाखौ करोडौ मूल्यको हुन धेरै चोट खाइसकेको हुन्छ। हिमालबाट निस्कने पत्थर निरन्तरको ठक्कर र संघर्ष  पछि मात्र पुजनिय सालिकग्राम बन्दछ। मान्छेलाई पनि सफलताको शिखरमा पुग्न अनेकौ पटकको असफलताको लडाइ लड्नु पर्छ। हरेक सफल काम र व्यक्तिकोपछाडी संघर्ष र असफलताको इतिहास हुन्छ।

आज हामी नव प्रर्वतन व्यवसाय स्टार्ट अपको विषयमा समिक्षा गर्न गइरहेका छौँ। बर्षेनी प्रत्येक देशमा लाखौ नयाँ व्यवसाय स्टार्ट अपको रुपमा प्रारम्भ हुन्छन। कुनै एक व्यक्ति वा समूह मिलेर बजारको आवश्यकतालाई हेरी बस्तु वा सेवा उत्पादन र विक्रि वितरण गर्ने गरी प्रारम्भ गरिने नयाँ कामलाई स्टार्ट अप अथवा नबप्रवर्तन व्यवसाय भनिन्छ। कतिपय स्टार्टअप आवश्यकताले, कतिपय रहरले त कतिपय देखासिखिमा प्रारम्भ हुन्छन। धेरै असफल हुन्छन भने केही मात्र सफल हुन्छन। विकसित मूलुकमा पनि स्टार्ट अप सफलताको प्रतिशत १० देखि १५ प्रतिशत मात्र छन।

भर्खर मात्र हामीले क्यानेडियन मूलका ३३ वर्षिय भारतिय व्यवसायी अपूर्वा मेहताको ग्रोसरी इकमर्स इन्स्टाकार्ट को सफलताको कथा पढौँ सन २०१३ मा अमेरीकाको सनफ्रान्सिस्कोमा इन्स्टाकार्ट प्रारम्भ गर्नु अगाडी अपूर्वाले शुरु गरेका २० वटा स्टार्ट अप फेल भै सकेका थिए। यही असफलताबाट पाठ सिकेर आम मानिसको समस्या समाधानमा केन्द्रित हुने गरी शुरु गरेको इन्स्टाकार्टले ८ वर्षमा अपूर्वालाई सफलताको उचाईमा पुर्यायो। आज अमेरिका र क्यानाडाको ५५ सय शहरमा संचालित ग्रोसरी इकमर्स व्यवसायमा  लगभग ३ लाख मानिस काम गर्छन र १४ अर्व डलरको सम्पत्ती बनाइ सकेको छ इन्स्टाकार्ट ले।

नेपालमा पनि बर्षेनी हजारौ स्टार्ट अप व्यवसाय प्रारम्भ हुन्छन। थोरै सफल हुन्छन, अनि धेरै बन्द हुन्छन। काठमाण्डौमा हामी केही समूह मिलेर २ वर्ष भित्र ६ वटा स्टार्ट अप काम शुरु गरेका छौँ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. लाई छोडेर हेरचार डट कम, नेक्सजेन मेनेजमेन्ट सोलुसन्स, नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज, हायर मी नेपाल, सजीलो मिल्स र सजिलो मेडस। सबै अलग अलग प्रकृतिका काम छन र प्रायः सबै आम मानिसको आवश्यकतालाई हेरेर डिजिटल बेस संचालन हुने गरी प्रारम्भ गरिएका छन। यी प्रत्येक व्यवसायमा १० लाख देखि ७५ लाख सम्म लगानी भएका छन। यही ६ वटा स्टार्ट अप संचालनको अनुभवको आधारमा नेपालमा नयाँ प्रारम्भ भएका स्टार्ट अप किन असफल हुन्छन?भनेरव्यवसाय संचालन गर्दा भोगेको, देखेको र अनुभव गरेको आधारमा व्यवहारिक अनुभव शेयर गर्न चाहन्छु।

स्टार्ट अप कसरी र किन प्रारम्भ गरिन्छ ?

आफु जन्मेको देशमा केही गरौ भनेर विदेशबाट फर्केका वा पढेर विदेश जान नचाहेका व्यक्ति व समूह मिलेर स्टार्टअपको प्रारम्भ हुन्छ। कतिपय डिग्रि सकेका युवा र अन्यत्र नोकरी नपाएका व्यक्तिले पनि स्वरोजगारीको लागि नयाँ काम प्रारम्भ गरेको पाइन्छ। व्यवसाय गरिरहेकाहरुले पनि व्यवसाय विस्तारको क्रममा बर्षेनी नयाँ नयाँ काममा हात हालिरहेका हुन्छन। राजनैतिक सम्पर्क भएकाहरुले पहुँच र सरकारी कार्यक्रम बाट फाइदा लिन पनि नयाँ नयाँ स्टार्ट अप शुरु गरेका देखिन्छन।

स्टार्ट अप व्यवसाय किन असफल हुन्छन?

नेपालमा मात्र होइन अमेरीका बेलायतमा पनि संचालनमा आएका अधिकांश  स्टार्ट अप असफल हुन्छन। एउटा अध्यान अनुसार स्टार्ट अप प्रारम्भ भएको २ देखि १० वर्ष भित्र ९० प्रतिशत बन्द भएको पाइन्छ। हामी कहाँ पनि शुरु भएका स्टार्ट अप निम्न कारणले असफल भएको देखिन्छ।

१.    बजारको राम्रो अध्ययन नभएरः- उपभोक्ताले के चाहान्छन, बजारको आवश्यकता के छ, कुन बस्तु  वा सेवाको बढी माग छ, डिस्ट्रिब्यूसन चैनल के के छन आदी विषयमा कुनै अध्ययन नगरी व्यवसाय संचालन गर्दा स्टार्ट अप बन्द हुने गरेका छन।

२.    व्यवसायीक क्षमतावान मान्छे नहुनुः- कुनै पनि काम बजारमा नयाँ हुदैन। कुनै न कुनै स्वरुपमा सो सम्बन्धी काम चलिरहेको हुन्छ। कडा प्रतिस्पर्धा विच संचालन गर्नु पर्ने हुन्छ। यस्तोमा संचालन कर्ता वा टिममा व्यवसायीक क्षमता सोच र सम्पर्क नहुदा स्टार्ट अप चल्न सक्दैन। हाम्रो नेक्सजेन मेनेजमेन्ट कम्पनीको कार्यक्रम र उद्देश्य राम्रो छ। माग पनि छ। तर योग्य संचालन कर्ता नहुँदा केही समय संचालन गरेर पनि थाति राख्नु परेको छ। देश र आम व्यवसायीको आवश्यकता भएर पनि कम्पनी निष्कृय अवस्थामा छ।

३.    अपनत्व  नभएको कमजोर टिमको कारणः- सवै ठाउँमा संस्थापक लगानी कर्ता आफै व्यवसाय संचालन गर्ने अवस्थामा हुदैनन। काम गर्न सक्ने आफन्त लाई राखेर पनि काम गर्नु पर्ने वाध्यता हुन्छ। तर व्यवस्थापनको नेतृत्व गर्ने व्यक्ति र काम गर्ने टिममा कम्पनी प्रति इमान्दारीता र अपनत्व भएन भने स्टार्ट अप कम्पनी राम्ररी चल्न सक्दैन। हेरचार डट कमले छोटो समयमा ब्राण्डिङ राम्रो बनाउन सकेता पनि टिमले धोखा दिँदा पूनरसंरचना गरी पूजीँ थपी संचालन गर्नु पर्ने अवस्था आएको कटु भोगाइ छ।

४.    प्रविधि मैत्री बजार वा उपभोक्ता नहुदाको समस्याः- व्यवसायमा प्रविधिको प्रयोग पश्चिमा मुलुकहरुमा धेरै पहिले भएको हो। उपभोक्ताहरु प्रविधि संग अभ्यस्त भै सकेका छन। विदेशमा काम गरेका र राम्रो ज्ञान लिएर आएकाहरु पूर्ण प्रविधिमा काम गर्न खोज्ने तर उपभोक्ता सो अनुसार तैयार नहुँदा स्टार्ट अपमा समस्या आउने देखिन्छ। हाम्रो अनलाइन मेडिसिन सप्लाई गर्ने सजिलो मेडस प्रा.लि.मा सोही समस्या आउदा अहिले म्यानुअल र अनलाइन दुबैलाई संगै लिएर संचान गरिरहेको अनुभव छ। यो तारतम्य नमिलाएको भय यो स्टार्ट अप सायद बन्द गर्नु पर्ने अवस्था पनि आउन सक्थ्यो होला।

५.    उत्पादित वस्तु वा सेवाको लागि बजार तैयार नहुनुः- कहिले काही हामी महत्वाकाक्षी भइ बजारको चाहना भन्दा आफ्नो चाहना अनुसारको काम शुरु गर्छौँ। काम शुरु गरिसके पछि बजारले त्यसलाई स्विकार गर्दैन र शुरु गरेको काम फेल हुन्छ। कोरोना महामारी अगाडी धेरैले देखासिखिमा अनलाईन ग्रोसरी थालेका थिए। ग्राहक पसलमा गएर हेरेर रोजेर खोजेर किन्ने बानिका थिए। घरमा ल्याइदिने सामान माथि विश्वास थिएन, त्यसैले चलेन। कोरोना कालमा बाध्यता परे पछि हिजो नचलेका तेही व्यवसाय अहिले गज्जवले चलिरहेको पाइन्छ।

६.    आवश्यक पूँजी श्रृजना गर्न नसक्नुः- प्रायःजसोले स्टार्ट अप शुरु गर्दा छ महिनाको लागि चाहिने पूजी जोडेर कामशुरु गरेका छुन्छन। तर अधिकांश स्टार्ट अप ब्रेक इभनमा जान दुई देखि तिन वर्ष पनि लाग्न सक्छ। त्यस्तो अवस्थामा आवश्यक थप पूजीँ श्रृजना गर्न नसक्दा प्रारम्भ गरेको काम असफल हुने गर्दछ। हाम्रो हेराचार डटकम राम्ररी चलेको देखिएता पनि चालिस लाख नोक्सानमा छ। ब्राण्डिङ गरे संचालन नाफामा जाने स्थिति देखिएकोले थप पूँजी श्रृजना गरी अगाडी बढाइएको हो ।

७.    धैर्यता र निरन्तरताको कमीः- व्यवसायमा सफल हुनको लागि धैर्यता संग संगै लक्ष्यमानपुगुन्जेल कामलाई निरन्तर चलाइरहने क्षमता र आत्म विश्वास चाहिन्छ। रहर र देखासिखिमा एक दुइ वर्ष चलाउने अनि चल्न सकेन भनेर स्टार्ट अप बन्द गरी नोकरी खोज्ने प्रकृति हामी कहाँ बढी नै छ। इन्स्टाकार्टका अपूर्वा मेहतालाई सफल हुन पनि ८ वर्ष  लाग्यो । नेपाल कै इसेवा लाई आजको स्थितिमा आउन दशौ वर्ष लागेको छ। त्यसैले धैर्यता र निरन्तरता नहुँदा पनि ९० प्रतिशत स्टार्ट अप फेल हुने गर्दछ।

८.    सरकारको असहयोगि भावनाः- विकसित मुलुक र भारतमा समेत नयाँ व्यवसायलाइ प्रोत्साहन गर्न सरकारले नगद सब्सिडि, कर छुट र अन्य सुविधाहरु दिइरहेको हुन्छ। योग्य, सक्षम र  युवाहरु व्यवसायमा लागुन र रोजगारी सृजना गरुन भनन्ने चाहाना हुन्छ।हामी कहाँ लकडाउनको बेला राष्ट्रिय योजना आयोगले २०७७।०१।२९ गते सार्वजनिक सूचना निकालेर स्टार्ट अप व्यवसायमा अनुदान लिन आह्वान गर्‍यो। ५ अर्वको कोष बनाएर रु ५ लाख देखि ५० लाख अनुदान दिने गरी ७०० जति निवेदन पनि पर्‍यो । तर दुई महिना पछि अर्थ मन्त्रालयले बजेट दिन नसकिने भनि स्टार्ट अपमा अनुदान दिने कार्यक्रम नै बन्द गरायो । दुई तिहाइको सरकारको दुई निकाय बीचमा कत्रो असमझदारी र समन्वयको अभाव? लकडाउन अघि खुलेर डुब्न थालेका स्टार्ट अप व्यवसायलाई अनुदान दिएर भए पनि बचाउनु पर्थ्यो तर सरकारको असहयोगी भावनाले धेरैलाई डुवायो।

९.    अप्रत्याशित प्रशासनिक आदेशको कारणः- मानिसले ठुलो जोखिम मोलेर स्टार्ट अप व्यवसाय शुरु गरेको हुन्छ। समस्या समस्यैको बीचमा संचालन गरिरहदाँ उसलाई सहयोग र सदभावको आवश्यकता हुन्छ। तर हामी कहाँ खुट्टा तान्ने प्रवृति र नयाँ लाई डुवाउने नीति लिँदा स्टार्ट अप असफल हुने गर्दछ। विगतमा प्रशासनले टुटल र पठाओ लाई पटक पटक रोक लगाएको, लकडाउनमा अनलाइन फुड डेलिभरी र ग्रोसरीलाई नियन्त्रण गर्न खोजेको जस्ता अप्रत्याशित प्रशासनिक आदेशका कारण पनि स्टार्ट अप बन्द  हुने अवस्थामा पुगेको पाइन्छ। हाम्रो सजिलो मिल्स प्रा.लि. को रेष्टुरेन्ट फुड घर घरमा डेलिभरी गर्ने काम पनि कहिले खोल्ने कहिले बन्द हुने स्थितिको सामना गरिरहँदा सरै चिन्ता लागेर आउँछ।

१०.    कमजोर बजार रणनिती तथा कार्यक्रमको कारणः- नेपालको बजार सानोछ, त्यस्मा पनि एउदै बस्तु वा सेवा प्रदान गर्ने कम्पनीहरु बीच कडा र अस्वस्थ प्रतिस्पर्धा छ। यस्तोमा नयाँ संचालन गरिने स्टार्ट अप कमपनीको उत्पादित बस्तु सेवा राम्रो छ, बजारमा माग पनि राम्रो छ, काम गर्ने टिम पनि ठिक छ। तर लक्षित वर्गको सही पहिचान गर्न सकिएन, त्यो समूहमा पुग्ने गरी मार्केटिङ राम्रो हुनु सकेन भने पनि स्टार्ट अप राम्ररी चल्न सक्दैन। बजार रणनिति र कार्यक्रम प्रभावकारी हुनु पर्छ। यस्को कमिको कारणले पनि कतिपय स्टार्ट अप कम्पनी बन्द भएका छन।

अन्तमा,नेपालको राजनितिक तहमा इमान्दारिता छैन, प्रशासनिक क्षेत्रमा दुरदर्शिता छैन, समाजमा सहयोगि भावना छैन। यस्तो प्रतिकुल परिस्थितिमा पनि स्टार्ट अप संचालन गर्नु भनेको ठुलो जोखिम मोल्नु हो, आफ्नोगरेको पुँजी पनि डुबाउनु हो। तर पनि माथिका समस्या, विकृति र बाधाहरुलाई पहिले नै बुझेर बजारको माग अनुसार सुझबुझ र धैर्यताका साथ काम गरेमा संचालन गरिएको स्टार्ट अप व्यवसायमा सफल अवस्य पनि भइन्छ।

Recent Blog Posts

2020-10-13
लकडाउनमा थला परेका साना उद्योग, व्य...

मध्यपुरठिमी नगरपालिका, निकोसेराका किराना व्यवसायी सुदीप अधिकारी लकडाउनको कारण व्यवसाय चलाउन नसकेको र कृषि बैंकबाट लिएकोऋणको बोझ...